काठमाडौं। अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको आश्चर्यजनक जितले टी-२० विश्वकप २०२४ को सुपर ‘एट’ चरणको समूह ‘१’ मा सबैको सेमिफाइनल पुग्ने सम्भावना खुल्ला भएको छ। अफगानिस्तानसँग अस्ट्रेलियाको जत्तिकै सेमिफाइनल पुग्ने सम्भावना छ।
अस्ट्रेलियाले सोमबार अन्तिम खेलमा भारतको सामना गर्नेछ, अफगानिस्तानले भने मंगलबार बंगलादेशसँग। यी खेलले अस्ट्रेलिया र अफगानिस्तानको सेमिफाइनल यात्रा तय गर्नेछ। यी दुवै टोलीले अन्तिम खेल जिते भने भारतसँगै तीन टोलीको समान चार अंक हुनेछ।
यदि अस्ट्रेलियाले एक रनले खेल जित्यो भने अफगानिस्तानलाई नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्न बंगलादेशलाई ३६ रनले पराजित गर्नुपर्ने हुन्छ। यदि लक्ष्य पछ्याउँदा अस्ट्रेलियाले अन्तिम बलमा खेल जित्यो भने अफगानिस्तानले खेल १५.४ ओभर या त्यसभन्दा अघि (पहिलो इनिङमा १६० रन बनाएको मानेर) जित्नुपर्नेछ।
भारत २.४२५ को नेट रनरेटका साथ बलियो स्थितिमा छ। भारतलाई सेमिफाइनलको दौड आउट गराउन अस्ट्रेलिया र अफगानिस्तान दुवैले ठूलो अन्तरले जित्नुपर्ने हुन्छ। अस्ट्रेलियाले भारतलाई कम्तीमा ४१ रनले जित्नुपर्नेछ भने अफगानिस्तानले बंगलादेशलाई कम्तीमा ८३ रनले हराउनुपर्नेछ। तर, भारत र बंगलादेशले जिते भने सेमिफाइनल समीकरण अर्को हुनेछ।
भारत ६ अंकसहित समूह ‘१’ को शीर्ष स्थानमा रहने छ भने अन्य तीन टोलीले दुई–दुई अंक बटुल्ने छन्। यस्तो अवस्थामा नेट रनरेट धेरै महत्त्वपूर्ण हुनेछ। अस्ट्रेलिया अहिले ०.२२३ को नेट रनरेटका साथ तीन टोलीमा उत्कृष्ट स्थानमा छ। यदि अफगानिस्तानले आफ्नो अर्को खेल एक रनले हार्यो भने अस्ट्रेलिया नेट रनरेटमा तल जान भारतसँग ३१ रनले खेल हार्नुपर्ने हुन्छ।
बंगलादेशलाई नेट रनरेटमा अफगानिस्तानलाई उछिन ३१ रनले जित्नुपर्नेछ। तर, सेमिफाइनलमा पुग्नका लागि उसले अर्को खेलमा अस्ट्रेलिया ५५ रनले हार्ने कामना पनि गर्नुपर्ने हुन्छ। भारत र अफगानिस्तान पराजित भए अस्ट्रेलिया चार अंकका साथ सेमिफाइनलमा पुग्नेछन्। भारत र अफगानिस्तानले खेल जिते अस्ट्रेलिया ‘सुपर एट’ बाटै स्वदेश फिर्ता हुनेछ। दुवै टोलीले खेल जितले भारत र अफगानिस्तान क्रमशः ६ र ४ अंकसहित सेमिफाइनलमा पुग्नेछन्।