एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) विभिन्न ४ खेलहरु संचालन हुँदैछ । ला लिगामा आइतबार शीर्ष स्थानको बार्सिलोना, एट्लेटिको मड्रिड, रियल मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
लिगको शीर्ष स्थानको बार्सिलोनाले आज इबरको सामना गर्दैछ । बार्सिलोना र इबरबीचको खेल नेपाली समय अनुसार राति ११:१५ मा सुरु हुनेछ ।
यसै साता स्पेनिस कोपा डेल रे फुटबलमा लेभान्टेसंग हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा इबरलाई निमन्त्रणा गर्दैछ । इबरविरुद्ध मैदान उत्रदा बार्सिलोना जितसहित शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ ।
लिग लिडर बार्सिलोनाले १८ खेलको समाप्तिमा ४० अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले अघि छ । इबर २२ अंकसहित लिगको १३ औं स्थानमा रहेको छ ।
लिगको दोस्रो स्थानको एट्लेटिकोले आइतबार नै लेभान्टेको सामना गर्नेछ । एट्लेटिकोको घरेलु मैदानमा हुने खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । एट्लेटिकोले १८ खेलबाट ३५ अंक जोडेको छ । २३ अंक जोडेको लेभान्टे ११ औँ स्थानमा रहेको छ ।
यस्तै रियल मड्रिडले रियल बेटिससंग उसैको मैदानमा खेल्नेछ । रियल मड्रिड र बेटिसबीचको खेल राति १:३० मा सुरु हुनेछ ।
यस सिजन खराब प्रदर्शन गरिरहेको रियल मड्रिड ३० अंक जोडेर पाँचौ स्थानमा छ । बेटिस २६ अंकसहित सातौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको एथ्लेटिको बिल्बाओले तेस्रो स्थानको सेभियासंग प्रतिस्पर्धा गर्नेछ । सेभियाले १८ खेलबाट ३३ अंक जोडेको छ भने बिल्बाओको १८ अंक छ ।