काठमाडौं। पोल्यान्ड युरोकपबाट बाहिरिएको छ। ओलम्पियास्ट्याडियन शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रियासँग ३-१ गोलअन्तरले पराजित भएसँगै पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको हो।
खेलको नवौं मिनेटमा गर्नोट ट्राउनरले गोल गर्दै अस्ट्रियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३०औं मिनेटमै क्रिजिस्तोफ पिएटेकले गोल गर्दै खेल बराबरीमा ल्याए। तर, दोस्रो हाफमा क्रिस्टोफर बाउमगार्टनर र मार्को अर्नाटोभिचले गोल गर्दै अस्ट्रियालाई पहिलो जित दिलाए।
जितसँगै अस्ट्रियाले तीन अंक जोडेको छ। अस्ट्रिया पहिलो खेलमा फ्रान्ससँग १-० गोलले स्तब्ध भएको थियो। पोल्यान्ड भने पहिलो खेलमा नेदरल्यान्ड्सँग २-१ गोलले पराजित भएको थियो।