काठमाडौं । युक्रेनले युरोकपमा पहिलो जित हासिल गरेको छ।
समूह ‘इ’ को आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकियाविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो।
युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले गोल गरे। यता, स्लोभाकियाको लागि इभान श्रान्जले गरेको पहिलो गोल सान्त्वना बन्यो।
जितसँगै युक्रेनले तीन अंक जोडेको छ। युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० ले पराजित भएको थियो। स्लोभाकियाले बेल्जियमलाई १–० ले पराजित गरेको थियो।
खेलको १७औँ मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्य गोललेपछि परेको युक्रेनका लागि ५४औँ मिनेटमा माइकोला र ८०औँ मिनेटमा रोमनले गोल गर्दै २–१ पहिलो जित दिलाए।
युक्रेनले समूह चरणको अन्तिम खेलमा २६ जुनमा बेल्जियमसँग खेल्नेछ।