काठमाडौं। करिब २५ वर्षपछि राडामेल फाल्काओ स्वदेश फर्कने भएका छन्। ३८ वर्षीय स्ट्राइकरले अर्को सिजन मिलोनारियोस डी बोगोटाका लागि खेल्ने छन्।
युरोपमा १५ वर्षको करियरमा चेल्सी, म्यानचेस्टर युनाइटेड र एट्लेटिको मड्रिडलगायत क्लबबाट खेलेका फाल्काओले सन् २००० देखि कोलम्बियामा खेलेका छैनन्। एट्लेटिको मड्रिडबाट उनले २०११-१२ को सिजनमा युरोपा लिगको उपाधि जितेका थिए।
‘मिलोनारियोस मेरो हृदयको टोली हो भन्ने सबैलाई थाहा छ,’ फाल्काओले एक भिडियोमा भने। कोलम्बियाका लागि ३६ गोल गरेका फाल्काओ स्पेनको रायो भालेकानोसँग तीन सिजन बिताएर मिलोनारियोस पुग्न लागेका हुन्। रायो भालेकानोबाट ८० खेल खेल्दा उनले १२ गोल गरेका छन्।
आफ्नो करियरमा पहिलो पटक कोलम्बियाको शीर्ष लिग खेल्न लागेका फाल्काओले ६ महिनाको सम्झौतामा हस्ताक्षर गरेका छन्। मिलोनारियोसले जुलाई ९ मा अर्जेन्टिनाको रिभर प्लेटसँग खेल्नेछ, यद्यपि फाल्काओले उक्त खेलमा खेल्न पाउँछन् या पाउँदैनन् भन्ने स्पष्ट छैन।
फाल्काओले सन् २००९ को सिजनको लागि पोर्टोसँग हस्ताक्षर गर्नुअघि रिभर प्लेटसँग चार सिजन खेलेका थिए। पोर्चुगलमा उनले दुई लिग उपाधि र युरोपा लिग जितेका थिए। उनले मोनाको र गलाटासारेका लागि पनि खेलेका छन्।