लमजुङ। प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगिताको उपाधिका लागि ग्रिन भ्याली र धुरपुरे भेट्रान्स क्लब भिड्ने भएका छन्।
लमजुङ फुटसलको आयोजनामा बेसीसहरमा शुक्रबार सम्पन्न सेमिफाइनलमा ग्रिन भ्यालीले बेस्ट ब्रदर्स बोइज भेट्रान्सलाई र धुरपुरे भेट्रान्स क्लबले लमजुङ दरबार एफसीलाई पराजति गरेका हुन्।
पहिलो सेमिफाइनलमा ग्रिन भ्याली ५-० गोलअन्तरले विजयी भयो। ग्रिन भ्यालीका कन्य सुब्बा गुरुङ र नरेश केसीले समान दुई गोल गरे। निश्चल तुलाचनले एक गोल थपे। तुलाचन नै म्यान अफ द म्याच घोषित भए।
अर्को सेमिफाइनलमा धुरपुरेले दरबारलाई टाइब्रेकरमा पाखा लगायो। धुरपुरेका विश्वलाल श्रेष्ठ, अमन गुरुङ र तुलसी राम थारुले पेनाल्टीमा गोल गरे।
दरबारका सुरेश श्रेष्ठले गोल गरे भने सचिन कायस्थको प्रहार धुरपुरे भेट्रान्सका गोलरक्षक भरत गुरुङले रोके। भरत नै म्यान अफ द म्याच घोषित भए।