लमजुङ। प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ग्रीन भ्याली, भोर्लेटार र बेस्ट ब्रदर्स बोइज भेट्रान्स तथा धुरपुरे भेट्रान्स क्लब, भोर्लेटार र लमजुङ दरबार एफसी भिड्ने भएका छन्।
लमजुङ फुटसलको आयोजनामा बेसीसहरमा बिहीबार सम्पन्न खेलमा जित निकाल्दै चार टोली सेमिफाइनलमा प्रवेश गरेका हुन्। ग्रीनले क्वार्टरफाइनलमा दोर्दी भेट्रान्सलाई ३-० गोलअन्तरले पराजित गर्यो।
खेलको पहिलो हाफ दुवै टोलीले गोल गर्न सकेनन्। तर, दोस्रो हाफमा ग्रिन भ्यालीका मनु महतले एक र कन्या सुब्बा गुरुङले दुई गोल गरे। अर्को खेलमा धुरपुरेले जीएससीलाई ४-० गोलअन्तरले पाखा लगायो।
धुरपुरेका केशर बारमले दुई तथा राजकुमार नेपाली र अमन गुरुङले १/१ गोल गरे। तेस्रो खेलमा बेस्ट ब्रदर्सले सामना भेट्रान्सलाई १-० गोलअन्तरले पराजित गर्यो। निकै संघर्षपूर्ण खेलमा बेस्ट ब्रदर्सका किरण कार्कीले गरेको गोल निर्णायक बन्यो। अन्तिम खेलमा लमजुङ दरबार एफसीले लमजुङ मर्स्याङ्दी युवा क्लबलाई ४-० गोलअन्तरले पराजित गर्यो।
दरबारका इन्द्र रानाले दुई तथा सुरेश श्रेष्ठ र पदम घलेले समान एक गोल गरे।