काठमाडौं। आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर एटको खेलमा भारतले अफगानिस्तानलाई १८२ रनको लक्ष्य दिएको छ।
बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८१ रन बनायो। भारतका सूर्यकुमार यादवले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले २८ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे।
हार्दिक पाण्डेले ३२ रन बनाउँदा विराट कोहलीले २४ र रिषभ पन्तले २० रनको योगदान दिए। शिवम दुबे १० र कप्तान रोहित शर्मा आठ रनमा आउट भए।
अफगानिस्तानका रासिद खानले चार ओभरमा तीन विकेट लिए। फजलहक फारुकीले पनि तीन विकेट हात पारे भने नवीन-उल-हकले एक विकेट लिए।
भारत समूह चरणमा चार खेलमा तीन जित र एक खेल वर्षाले रद्द भएपछि समूह ए मा शीर्ष स्थानमा रहँदै सुपर एटमा पुगेको हो। त्यस्तै, अफगानिस्तानले समूह चरणमा चारमध्ये तीन खेलमा जित एक खेलमा हार बेहोरेर समूह सी मा दोस्रो हुँदै सुपर एटमा पुगेको हो।
अफगानिस्तानले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन। अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल आठ खेल भएका छन्। जसमा सात खेल भारतले जितेको छ भने एक खेल रद्द भएको थियो।
दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्त्वपूर्ण रहेको छ। यस समूहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन्।