काठमाडौं। आइसिसी ट्वान्टी-२० विश्वकपमा जितविहीन भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एक समूह राति १ बजे र अर्को समूह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
एक दशकपछि आइसिसी ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। सोमबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो।
नेदरल्यान्ड्ससँग नेपाल ६ विकेट र दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो। श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो। यही एक अंकसहित नेपालले विश्वकप अन्त्य गरेको थियो।