काठमाडौं। न्युजिल्यान्डका केन विलियम्सनले कप्तान पदबाट राजीनामा दिएका छन्। आइसिसी ट्वान्टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि उनले ट्वान्टी–२० र एकदिवसीय टोलीको कप्तानबाट राजीनामा दिएका हुन्।
‘न्युजिल्यान्ड क्रिकेटमा मेरो योगदान जारी राख्ने छु र टोलीलाई सबै फर्म्याटहरूमा अगाडि बढाउन मद्दत गर्न तत्पर छु,’ न्युजिल्यान्ड क्रिकेटद्वारा जारी विज्ञप्तिमा विलियम्सनले भने।
समूह ‘सी’ मा रहेको न्युजिल्यान्ड ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानसँग ८४ र वेस्ट इन्डिजसँग १३ रनको हार बेहोरेको थियो। यद्यपि, दुई एसोसिएट राष्ट्र युगान्डालाई नौ र पपुवा न्यू गिनीलाई न्युजिल्यान्डले सात विकेटले पराजित गरेको थियो। चार खेलमा चार अंक जोडेको न्यूजिल्यान्ड समूह चरणमा तेस्रो भयो। यो समूहबाट वेस्ट इन्डिज र अफगानिस्तान शीर्ष दुईमा रहेर ‘सुपर एट’ मा पुगेका छन्। सन् २०१४ पछि न्युजिल्यान्ड कुनै पनि विश्वकप (ओडिआई र ट्वान्टी–२० दुवै) को सेमिफाइनलमा पुग्न नसकेको यो पहिलो पटक हो।