काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा स्कटल्यान्ड युरोकपको दोस्रो खेलमा जित हासिल गर्न असफल भएको छ।
बुधबार राति सम्पन्न खेलमा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको हो।
खेलको १४औं मिनेटमा स्कट म्याकटोमिनेको गोलबाट स्कटल्यान्डले सुरुआती अग्रता लिएको थियो। तर, त्यसको १३ मिनेटपछि नै जेरदान शाकिरीले गोल गर्दै स्वीट्जरल्यान्डको हार टार्दिए।
योसँगै स्वीट्जरल्यान्डले दुई खेलबाट चार अंक जोड्दै अन्तिम १६ को सम्भावना बलियो बनाएको छ। समान खेलबाट एक अंक जोडेको स्कटल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।