काठमाडौं। क्रिस्टियानो रोनाल्डोको युरोकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्। मंगलबार राति सम्पन्न उनको कप्तानीमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।
२००४ मा पोर्चुगल फाइनलमा पुगेको युरो कपमा उनले डेब्यु गरेका थिए। ३९ वर्षीय रोनाल्डोले प्रतियोगितामा सर्वाधिक गोल (१४) गर्ने कीर्तिमान यसअघि नै बनाएका थिए भने उनले आफ्नो उपस्थितिको रेकर्ड २६ खेलसम्म पुर्याएका थिए। उनले पोर्चुगललाई युरो २०१६ को उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
'हाम्रो इतिहासको अर्को अध्याय आजबाट सुरु हुन्छ,' रोनाल्डोले खेलअघि एक्समा लेखेका थिए, 'म राष्ट्रिय टोलीसँग मेरो पहिलो दिनको सम्झिन्छु, जुन यात्रा चुनौती र जितले भरिएको थियो। प्रतिभा र दृढ संकल्पले भरिएको च्याम्पियनहरूको टोलीको साथमा थिए। सबैको शक्ति र समर्थनले हामी सपनालाई वास्तविकतामा परिणत गरिरहेका छौं। हामी सबै मिलेर अर्को विजयका लागि लडौं।'
युरो २०२० मा रोनाल्डोले सर्वाधिक पाँच गोल गरेका थिए। चेक फरवार्ड प्याट्रिक सिकले पनि सोही प्रतियोगितामा ५ गोल गरेका थिए। रोनाल्डोले यसअघि सन् २००८ र २०१२ को संस्करणमा चेक रिपब्लिकविरुद्ध गोल गरेका थिए।
सन् २००३ को अगष्टमा ब्राजिलका प्रशिक्षक लुइज फेलिप स्कोलारीको नेतृत्वमा १८ वर्षको उमेरमा डेब्यु गरेका रोनाल्डोले पोर्चुगलका लागि २०८ खेलमा १३० गोल गरिसकेका छन्।
रोनाल्डोले साउदी प्रो लिगमा उपविजेता अल नासरका लागि ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। लिगमा उनले चार ह्याट्रिक गरे भने एक रातो कार्ड पाए। गत फेब्रुअरीमा अल–शबाबका समर्थकले लियोनल मेसीको नाम लिइरहँदा अश्लिल हाउभाउ गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो।