काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ६२ रनको लक्ष्य दिएको छ ।
बैककमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन मात्र बनाउन सक्यो । मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन् । यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक एक विकेट लिए ।
पहिलो खेलमा चीनलाई हराउन सफल नेपाली टोली मलेसियालाई हराएर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । नेपाल आज मलेसियालाई हराएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो ।
नेपालले सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।