काठमाडौं। ‘यो पुस्ता प्रतियोगिता जित्न योग्य छ भन्नेमा मलाई विश्वास छ,’ भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोको भनाइ हो।
सन् २०१६ मा पोर्चुगललाई पहिलोपल्ट युरोकपको उपाधि दिलाएका रोनाल्डो ३ वर्ष पुगिसकेका छन्। सम्भवतः उनको यो नै अन्तिम युरोकप हुनेछ। त्यसले कीर्तिमानी छैटौंपल्ट युरोकप खेल्न लागेका रोनाल्डो मंगलबार चेक रिपब्लिकविरुद्ध लाइपजिगमा हुने खेल जितसँगै सुरुआत गर्ने लक्ष्यमा हुनेछन्।
रोबर्टो मार्टिनेजको टोली शतप्रतिशत जितसहित युरोकपमा छनोट भएको थियो। समूह ‘एफ’ मा रहेको पोर्चुगलले यसपटक चेक रिपब्लिकसँगै टर्की र जर्जियाजस्ता कमजोर प्रतिद्धन्दी पाएको छ। त्यसैले पोर्चुगललाई समूह विजेताको प्रबल दाबेदार मानिएको छ।
पोर्चुगलले सन् २०१६ मा उपाधि जित्दा रोनाल्डो कप्तानी भूमिकामा थिए। त्यतिखेर पनि पोर्चुगललाई समूह विजेताको दाबेदार मानिएको थियो। तर, नतिजा भने फरक आइदियो। हंगेरी, आइसल्यान्ड र अस्ट्रिया रहेको समूह ‘एफ’ मा पोर्चुगललाई अन्तिम १६ मा स्थान बनाउन हम्मेहम्मे नै परेको थियो।
तीनवटै खेल बराबरी खेल्दै अन्तिम १६ मा पुगेको पोर्चुगलले क्रोएसियालाई पाखा लगाउन ११७औं मिनेटमसम्म कुर्नुपर्यो। रिकार्डो बर्नार्डोले गरेको त्यो निर्णायक गोलसँगै क्वार्टरफाइनल पुगेको पोर्चुगलले सेमिफाइनलमा स्थान बनाउन पोल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्यो।
त्यसपछि वेल्समाथि २–० को सहज जित हासिल गरेको पोर्चुगल उपाधिका लागि फ्रान्ससँग भिडेको थियो। यद्यपि, उक्त खेल भने पोर्चुगलले प्रतियोगितामा दुई गोल गरेका कप्तान रोनाल्डोबिनै खेलेको थियो।
यसपटक रोनाल्डो सानदार लयमा छन्। साउदी प्रो लिगमा अल नासरका लागि कीर्तिमानी ३५ गोल गरेका रोनाल्डोले गत साता आयरल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा पनि सोही लयलाई कायम राखेका थिए। दुई गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्याएका छन्। उनी युरोकपका सर्वकालिन शीर्ष गोलकर्ता (१४ गोल) पनि हुन्। २०२० मा पाँच गोल गर्दै गोल्डेन बुट जितेका उनले फ्रान्सका मिचेल प्लाटिनी (नौ गोल)लाई पछि पारेका थिए।
रोनाल्डोले पहिलोपटक सन् २००४ मा घरेलु भूमिमा आयोजना भएको प्रतियोगितामा सहभागिता जनाएका थिए। त्यतिखेर उनले युरोको आफ्नो डेब्यु खेलमै ग्रिसविरुद्ध दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए। उक्त प्रतियोगितामा यी दुई टोलीले नै फाइनल पुगेका थिए। तर, उपाधि भिडन्तमा पोर्चुगल ग्रिससँग १–० गोलले पराजित भयो। युरोकपका २५ खेल खेलेका उनले पोर्चुगलको टोलीबाट पाँच संस्करण खेल्दा एक खेल मात्र गुमाएका छन्।
यदि चेक रिपब्लिकाविरुद्ध गोल गरेभने उनी अस्ट्रियाका इभिका वास्टिकलाई उछिन्दै सबैभन्दा पाको गोलकर्ता भन्ने छन्। उनले सन् २००८ मा ३८ वर्ष २५७ दिनको उमेरमा गोल गर्दै उक्त कीर्तिमान बनाएका थिए। ‘म फुटबलमा रमाउँछु। कीर्तिमान एक परिणाम मात्र हो। त्यसैले मेरो लागि यो लक्ष्य होइन,’ रोनाल्डोले भने।
कतार विश्वकप २०२२ को समूह चरणका तीन खेलमा एक गोलमात्रै गर्नसकेका रोनाल्डो र मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषबीच मनमुटाब नै भएको थियो। त्यसैले सान्तोषले स्वीट्ल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा उनलाई सुरुआती ११ मै स्थान दिएन। उक्त खेल पोर्चुगलले ६–१ ले जितेको थियो। मोरक्कोविरुद्धको खेलमा पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले टोलीलाई सेमिफाइनलमा पुर्याउन सकेनन्।
सान्तोषको स्थानमा यसपटक मार्टिनेज पाँच पटकका बालोन डी’ओर विजेतासँग जोडिएका छन्। रोनाल्डोको आगमनसँगै पोर्चुगलले युरोकपका हरेक संस्करणमा समूह चरण पार गरेको छ। जसमा उनले आठ गोल गरेका छन्। आफ्नो लामो अन्तर्राष्ट्रिय क्यारियरमा पोर्चुगलका लागि २०७ क्याप खेलेका उनी अझै पनि फुटबल मै रम्न चाहन्छन्।
‘म अझै पनि धेरै प्रेरित महसुस गर्दछु, यो एक फरक प्रतियोगिता हो र हामी सबै तयार छौं,’ उनले भने। रोनाल्डो खेल्नु उनका टोलीका खेलाडीलाई थप प्रेरण मिल्नु हो। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले शनिबार पत्रकार सम्मेलनमा भने, ‘क्रिस्टियानो सधैं ठूलो नतिजा ल्याउनेबारे सोच्नेछन् र हामी उनको साथ जारी राख्नेछौं।’
पोर्चुगल उपाधिको प्रबल दाबेदार मध्येको एक टोली हो। तर, चेक रिपब्लिक २० वर्षदेखि क्वार्टरफाइनलभन्दा माथि जान सकेको छैन। सन् १९७६ मा चेकोस्लोभाकियाको रूपमा चेक रिपब्लिकले पनि युरोकपको उपाधि उचालेको थियो। यसपटक चेक रिपब्लिक त्यही लयलाई समात्ने लक्ष्यमा हुनेछ। उसले विजयी सुरुआत गर्ने हो भने थोमस होल्सको नेतृत्वमा रहेको टोलीले रोनाल्डोलाई रोक्न विषेश योजना बनाउनुपर्छ। तर, दुई दशकअघि पोर्चुगलको टोलीमा रोनाल्डोको आगामन भएसँगै कमै टोलीले उनलाई रोक्न सफल भएका छन्।