लमजुङ । प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगितामा चण्डीडाँडा भेट्रान्स, खासुर रोधी, बेस्ट ब्रदर्स बोइज र नेपाल युनाइटेडले जित हासिल गरेका छन्।
लमजुङ फुटसलको आयोजनामा बेसीसहरमा आइतबार सम्पन्न खेलमा चण्डीडाँडाले लमजुङ फुटसल निलोलाई ५-० गोल अन्तरले पराजित गरेको हो। चण्डीडाँडाको जितमा प्रेमध्वज गुरुङ एक्लैले चार गोल गरे। यस्तै, सुजन रानामगरले एक गोल थपे।
दोस्रो खेलमा खासुरसँग श्री छाउँदी हिमालयन युवा क्लब २-० गोलअन्तरले पराजित भयो। खासुरको जितमा रविन्द्र श्रेष्ठले दुवै गोल गरे।
तेस्रो खेलमा बेस्ट ब्रदर्ससँग सेभेन स्टार, डुम्रे ४-० गोलअन्तरले पराजित भयो। बेस्ट ब्रदरको जितमा लक्ष्मण दूराले दुई तथा किरण कार्की र सिजन श्रेष्ठले समान एक गोल गरे।
दिनको अन्तिम खेलमा नेपाल युनाइटेडले भोटेओडारविरुद्ध वाक ओभर पायो। विजेता सबै टोली क्वार्टरफाइनल पुगेका छन्।