काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्ध आफ्नो टोलीले राम्रो खेलेको बताएका छन्।
शुक्रबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो। योसँगै एक खेल खेल्न बाँकी नेपाल सुपर ‘एट’ को दौडबाट बाहिरिएको छ।
खेलपछि प्रतिक्रिया दिँदै उनले राम्रो क्रिकेट खेल्दा पनि हार बेहोर्न परेको बताए। ‘दुई बलमा दुई रन चाहिएको थियो। तर, टी-२० यति फास्ट छ जतिबेला पनि गेम यताउति जान्छ। मोमेन्टम चाँडै चेन्ज हुने भएको कारण ओभरल हेर्दा सबैमा राम्रै गर्यौं जस्तो लाग्छ,’ उनले पोस्ट म्याच प्रेस कन्फ्रेन्समा भने।
यो पिचमा स्पिनयरले आफ्नो योजनाअनुसार नै प्रदर्शन गरेको उनले बताए। नेपालका कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीले चार ओभर बलिङ गर्दै २१ रन खर्चिएर तीन विकेट लिए।
‘मलाई हाम्रो टोलीमा गर्व छ, विशेगरी ब्याटिङ र बलिङमा। हिजो विकेट हेर्दा हामीलाई स्पिनरको मद्दत मिल्छ भन्ने थाहा थियो, त्यसैले हामीले स्पिनरहरूलाई बढी बलिङ गर्न लाग्यौं,’ उनले भने।
सुपर ‘एट’मा पुगिसकेको दक्षिण अफ्रिकाले समूह ‘डी’ मा चार खेलबाट आठ अंक जोड्यो। नेपालले तीन खेलबाट एक अंक जोड्यो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो।