काठमाडौं। आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको रोमाञ्चक खेलमा नेपाल पराजित भएको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपालले एक रनले पराजित भएको हो। योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ।
सुपर एटमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह डी मा चार खेलबाट आठ अंक जोड्यो। नेपालले तीन खेलबाट एक अंक जोड्यो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो।
दक्षिण अफ्रिकासँग पराजित भएसँगै यस समूहबाट बंगलादेश र नेदरल्यान्ड्सबीच सुपर एटमा पुग्न भिडन्त हुने भएको छ। नेपालसँग अन्तिम खेल खेल्न बाँकी बंगलादेशको तीन खेलबाट चार अंक छ।
श्रीलंकासँग अन्तिम खेल खेल्ने नेदरल्यान्ड्सको समान खेलबाट दुई अंक रहेको छ। नेपालसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा आठ रन चाहिएको थियो। ओटनिल बार्टम्यान आफ्नो ओभरको सुरुआती दुई बल डट राखेका थिए। तेस्रो बलमा गुल्शनकुमार झालाई चौका दिए। चौथो बलमा गुल्शनले दुई रन लिएपछि नेपाललाई जितका लागि दुई रन चाहिएको थियो।
एक रन ल्याएपनि खेल सुपर ओभरमा पुग्ने थियो। तर, अफ स्टम्पबाहिरकफ ब्याक अफमा आएको शट बलमा गुल्शनले रन बनाउन सकेनन्। अन्तिम बलमा एक रन लिन नन स्ट्राइकबाट सोमपाल कामी दौडिएपनि गुल्शनले अलमल गर्दा विकेट किपर क्विन्टन डि ककले फ्याँकेको थ्रो बलमा गुल्शन रन आउट हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो।
बलिङमा कुशल भुर्तेलले चार र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएर सन्नसनी मच्चाएपछि नेपाल ब्याटिङमा उत्रिएको थियो। नियमति ओपनिङ जोडी भुर्तेल र सेखले नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। भुर्तेल २१ बलमा १३ बनाएर आउट भए। उनी आठौं ओभरको दोस्रो बलमा तबरेज शम्सीबाट बोल्ड भए। लगत्तै कप्तान रोहितकुमार पौडेल दुई बल खेल्दै शम्सीबाट नै बोल्ड भए।
त्यसपछि क्रृजमा आएका अनिलले आसिफसँग ३६ बलम ५० रनको साझेदारी गर्दै नेपाललाई १३.४ ओभरमा ३-८५ को स्थितिमा पुर्याएका थिए। तर, अनिल एडन मार्करामको बलमा २७ रनमा बोल्ड भएपछि दक्षिण अफ्रिकाले खेलमा पुनरागमन गरेको थियो। त्यसपछि दीपेन्द्रसिंह ऐरी ६ ररनमा शम्सीबाट आउट भए।
क्रिजमा जमेर खेलिरहेका आसिफ पनि ४९ बलमा चार चौका र एक छक्कासहित ४२ रन बनाएर शम्सीबाटै बोल्ड भए। कुशल मल्ल एक रनमा पेभिलियन फर्किँदा सोमपाल कामी आठ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका तबरेज शम्सीले चार ओभरमा १९ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। एडन मार्करामको नाममा एक विकेट रह्यो।