पोखरा । गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा शुक्रबारबाट सुरु भएको खेलमा बागलुङलाई ३७ रनले पराजित गरी विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १६२ रन बनायो ।
कास्कीका मुस्कान थापाले चार चौका र एक छक्का प्रहार गर्दै ३७ रनको योगदान दिए भने अर्जुन कुमालले आक्रामक पारी खेल्दै २४ बलमा सात चौकाको सहयोगले ३६ रन बनाए । त्यस्तै अभिषेक थापाले २९ बलमा एक छक्का र चार चौकाको मद्दतले ३३ रन बनाए ।
बागलुङका लागि आश्विन थापाले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिँदा सञ्चार निउरेले पुरै चार ओभरको बलिङ स्पेलमा ३४ रन दिएर समान २ विकेट लिए । बागलुङका लागि चन्दन यादव र महेश ओझाले समान १–१ विकेट लिए ।
यता १६३ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो । बागलुङका अर्जुन रायमाझीले २५, आराश तामाङले २४, चन्द्रदिप यादवले १९ रनबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
कास्कीका लागि खेलको म्यान अफ दि म्याच समेत रहेका विश्वास पराजुलीले कसिलो बलिङ गर्दै ३ ओभरमा २८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सुवास भण्डारी र विपिन खत्रीले समान २–२ विकेट लिँदा आदित्य थापाले १ विकेट हात पारे ।