काठमाडौं। श्री भगवली क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रमअन्तर्गत छनोट हुन सफल फुटबल खेलाडीहरूको पहिलो टोली बेंग्लोर प्रस्थान गरेको छ।
श्री भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशी तथा ब्यवस्थापक बिजेन्द्र पुडासैनीको नेतृत्वमा ३६ सदस्यीय टोलीेले बेंग्लोर को किक स्टार्ट फुटबल क्लबमा (एफसी) छनौट परिक्षण दिने छन्। परिक्षणबाट उत्कृष्ट खेलाडीको रुपमा छनोट हुन सफल खेलाडीहरूले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरूले टोटनह्याममा सहभागीता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए।
बेंग्लोर गएको टोलीले त्यहाँ तीन दिनसम्म शारिरीक, खेल कौशलता परिक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छन्। त्यस पश्चात खेलाडीहरू नेपाल फर्कने र परिक्षणमा छनौट हुन सफल खेलाडीहरूले आवश्यक प्रकृया पूरा गरेपश्चात् पुनः एकेडेमीमा प्रशिक्षण लिने र उक्त प्रशिक्षणमा उत्कृष्ट हुन सफल खेलाडीले टोटनह्यामको टिकट काट्ने ब्यवस्थापक बिजेन्द्र पुडासैनीले जानकारी गराए।
टोखास्थित श्री भगवती क्लबको आयोजनामा भएको रोड टु टोटनह्यम कार्यक्रममा देशभरिका करिब तीन हजार खेलाडीहरूको सहभागिता रहेको थियो। किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरूको टोलीले दुई दिनसम्म सञ्चालन भएको छनोट कार्यक्रमबाट पहिलो चरणमा १४७ खेलाडीहरूलाई छनोट गरेका थिए। छनोट भएका खेलाडीहरूको दोश्रो टोली जुलाईमा बेंग्लोर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।