काठमाडौं। बायर्न म्युनिखले जर्मन प्रतिद्वन्द्वी स्टुटगार्टबाट जापानका डिफेन्डर हिरोकी इतोलाई अनुबन्ध गरेको छ।
इतो चार वर्षका लागि अनुबन्धित भएको बायर्नले बिहीबार जनाएको छ। थोमस टुचेलको स्थानमा भिन्सेन्ट कोम्पनीलाई गत महिना प्रशिक्षकमा नियुक्त गरेपछि उनी बायर्नका लागि पहिलो नयाँ अनुबन्धित खेलाडी हुन्।
स्थानान्तरण शुल्क सार्वजनिक गरिएको छैन। तर, जर्मन पत्रिका किकरका अनुसार बायर्नले एड-अन शुल्कको लागि रिलिज क्लज पूरा गरेको छ।
२५ वर्षीय इतो सन् २०२१ देखि स्टुटगार्टबाट खेल्दै आएका थिए। यो सिजन स्टुटगार्ट बुन्डेसलिगामा दोस्रो स्थानमा उक्लन सफल भएको थियो। सन् २०११–१२ को सिजनपछि पहिलो पटक ट्रफीविहीन भएको बायर्नभन्दा स्टुटगार्ट एक स्थान अगाडि रह्यो।