काठमाडौं। भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली ट्वान्टी–२० विश्वकपमा ओपनिङमा लगातार फ्लप भइरहेका छन्।
उनले यो प्रतियोगितामा आफ्नो इन्डियन प्रिमियर लिग (आईपीएल) फर्मलाई निरन्तरता दिन सकेका छैनन्। अमेरिकाविरुद्धको लक्ष्य पछ्याउने क्रममा उनी पहिलो बलमै आउट भएका थिए। उनलाई भारतीय मूलका तीव्रगतिका बलर सौरभ नेत्रवलकरले विकेटको पछाडि क्याच आउट गरेका थिए।
कोहलीले विश्वकपका तीन खेलमा पाँच रन बनाएका छन्। उनले रोहित शर्मासँग भारतका लागि ट्वान्टी–२० ढाँचामा पहिलो पटक ओपनिङ गर्दैछन्। तर, समूह चरणको पहिलो तीन खेलमा उनको ब्याट चल्न सकेको छैन। उनले आयरल्यान्डविरुद्ध पाँच बलमा एक रन र पाकिस्तानविरुद्ध तीन बलमा चार रन बनाएका थिए।
अमेरिकामा उनको राम्रो रेकर्ड छैन। उनले ६ इनिङ्समा ६८ रन मात्र बनाएका छन्। यस अवधिमा उनको स्ट्राइक रेट ९७.१४ रहेको छ भने औसत ११.३३ रहेको छ।
भारतका लागि पछिल्लो समय सीमित ओभरको खेलमा रोहितले यशस्वी जसवालको साथमा ओपन गर्ने गरेका थिए। तर,विश्वकपमा भारतले आफ्नो कम्बिनेशन बदलेर यशस्वीको स्थानमा कोहलीलाई पठाउने निर्णय गरेको थियो। कोहलीले भारतलाई द्रुत सुरुवात दिन नसकेसँगै शीर्ष क्रममा परिवर्तन गर्ने टोली व्यवस्थापनको निर्णय अहिले गलत भइरहेको देखिन्छ।
उनको इनिङ्स ओपनिङका कारण ऋषभ पन्त तेस्रो नम्बरमा झरेका छन्। यो स्थानमा ब्याटिङ गर्दा उनी सफल भइरहेका छन्। अमेरिकाविरुद्धको प्लेइङ–११ मा भारतले परिवर्तन गर्ने र यस्तो अवस्थामा यशस्वीलाई मौका दिने विश्वास आशा गरिएको थियो। तर, कप्तान रोहितले पुरानो प्लेइङ–११ लाई अघि बढाउने निर्णय गरेका थिए।