पथरी। मोरङ जिल्लास्तरीय ए डिभिजन फुटबल लिगको बुधबार सम्पन्न खेलमा उर्लाबारी फुटबल क्लब, साइनो स्पोर्ट्स क्लब र हरौचा स्पोर्ट्स क्लब विजयी हुँदा बेलबारी फुटबल क्लब र मुनाल स्पोर्टिङ क्लबले बराबरी नतिजा निकालेका छन्।
बेलबारीस्थित बेलबारी रंगशालामा सम्पन्न पहिलो खेलमा बेलबारी फुटबल क्लबले मुनाल स्पोर्टिङ क्लबसँग २-२ को बराबरी गरेको छ। बेलबारीले दुई पटकको अग्रता जोगाउन नसक्दा मुनालसँग अंक बाँढ्न बाध्य भयो।
सो खेलमा बेलबारीका डेभिड मगर र नवीन राईले एक गोल गरे। मुनाल स्पोर्टिङ क्लबका सन्दीप राईले गोल गरे भने बेलबारीका सन्दीप कार्कीले गरेको आत्मघाती गोल उपहारमा खेल बराबरीमा सकियो।
बुधबार नै सम्पन्न दोस्रो खेलमा उर्लाबारी फुटबल क्लबले सम्राट स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गर्यो। उर्लाबारीका लागी राम थापा र मिलन धिमालले समान १-१ गोल गर्दा सम्राट स्पोर्टिङ क्लब नितेश लिम्बुले एक गोल फर्काए।
यसैगरी विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा साइनो स्पोर्ट्स क्लबले मोतीराम स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गर्यो। साइनो स्पोर्ट्स क्लब कुनाल लामा तामाङ, डम्बरबहादुर कार्कीले गोल गर्दा र मोतीराम स्पोर्टिङ क्लबका टेकबहादुर लिम्बुले गोल फर्काए। यसै गरी दोस्रो खेलमा हरैचा स्पोर्ट्स क्लबले चार तारे युवा क्लब लेटाङलाई २-१ ले पराजित गर्यो।
हरैचा स्पोर्ट्स क्लबका सुदीप खड्का र पारस दाहालले गोल गर्दा चार तारे युवा क्लबका सागर तिवारीले गोल गरे। १० टिम सम्मिलित ए डिभिजन लिगको पुछारका २ टोली बी डिभिजनमा घटुवा हुने छ।