काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर एवम् कप्तान किरण चेम्जोङ एक सयौं खेल खेल्ने पहिलो नेपाली फुटबलर बनेका छन्।
साउदी अरबको दमाममा विश्वकप २०२६ छनोटको अन्तिम खेलमा यमनविरुद्ध पहिलो रोजाइमा रहेर मैदान उत्रिएसँगै उनी एक सयौं खेल खेल्ने पहिलो खेलाडी बनेका हुन्।
साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलबार राति सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको थियो। यमनविरुद्ध प्रतिस्पर्धा गर्नको लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सम्हालेको नेपाली टिमको सुरुआती ११ मा कप्तान किरणसहित अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, रोहित चन्द, लकेन लिम्बु, विशाल बस्नेत, भरत खवास, मनीष डाँगी, संजीव विष्ट र जिलेस्पीजंग कार्कीलाई समावेश गरिएको थियो।
३४ वर्षीय किरणले एएफसी च्यालेन्ज कप २००८ को छनोटमा मकाउविरुद्ध ३–२ ले जित हात पारेको खेल (२४ मे २००८/नोम पेन, कम्बोडिया) पहिलो रोजाइमा खेल्दै डेब्यू गरेका थिए।
तर, उनले चिउँडोमा चोट बोक्दै २४ औं मिनेटमै मैदान छड्नुपरेको थियो। त्यसको तीन वर्षपछि पुनरागमन गरेयता उनी राष्ट्रिय टिममा निरन्तर छन्।
नेपालको लागि यमनविरुद्धको खेल विश्वकप २०२६ छनोटको अन्तिम प्रतिस्पर्धा थियो। नोभेम्बर, २०२३ मा दशरथ रंगशालामा भएको खेलमा यमनले दोस्रो हाफमा दुई गोल गर्दै नेपाललाई २–० ले हराएको थियो।
अघिल्ला पाँचै खेल हारेको नेपालले यो विश्वकप छनोटमा यमनविरुद्ध दुई गोल गर्दै खाता खोलेको छ। अघिल्ला ५ खेलमा शतप्रतिशत हार बेहोर्ने क्रममा नेपालले १८ गोल खाएको थियो। त्यसैले नेपाली टिमको मुख्य चुनौती नै गोलको खडेरी तोड्ने थियो। यसलाई सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले गोल गर्दै तोडेका छन्।