काठमाडौं। बोलिभियाका १६ वर्षीय मिडफिल्डर मोइसेस पानियागुआले अमेरिकामा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता गुमाउने भएका छन्।
स्थानीय क्लब अलवेज रेडीबाट खेल्दै पानियागुआले अभिभावकको पूर्ण अनुमति नलिएकाले अमेरिका प्रवेशाज्ञा (भिसा) नदिएको बोलिभियाली फुटबल संघले जनाएको छ।
इक्वेडर र कोलम्बियाविरुद्ध अमेरिकामा हुने मैत्रीपूर्ण खेलका लागि उनलाई छनोट गरिएको थियो। तर, उनी अमेरिक जान पाएनन्। प्रशिक्षक जागोले चाँडै नै २६ सदस्यीय टोलीको घोषणा गर्नेछन्।
पानियागुआले फेब्रुअरीमा कोपा लिबर्टाडोरेसमा १६ वर्ष, १८८ दिनको उमेरमा दोस्रो सबैभन्दा कम उमेरको गोलकर्ता बनेर इतिहास रचेका थिए। पेरुको स्पोर्टिङ क्रिस्टलमाथि ६–१ को जित हासिल गर्दा उनले गोल गरेका थिए।
समूह 'सी' मा बोलिभिया, अमेरिका, पाराग्वे र पानामा रहेका छन्। प्रतियोगिताको पहिलो खेल जुन २३ मा टेक्सासको आर्लिंगटनमा हुनेछ।