पोखरा । गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ ।
पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई टाई ब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता तनहुँले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
निर्धारित समयमा दुवै टिम गोल गर्न असफल बने पछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । कास्कीतर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयुष्मान् गुरुङले गोल गर्दा राजकुमार कुँवरको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिएको थियो ।
यता तनहुँका लागि दीपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिँदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले बचाउ गरेका थिए ।
यसअघि निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुवै टिम गोल गर्न असफल रहेका थिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तनहुँका शन्तबहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात पारे । त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए ।
उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले बताए ।