पोखरा। पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिनजिक पुगेका छन्।
पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमिफाइनलबाट उपाधि भिडन्त हुने टिमको टुङ्गो लागेको हो। शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजितगरी फाइनलमा पुगेको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजीव शिरीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो। तनहुँका शान्तबहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५औं मिनेटमा दीपेश आलेले तनहुँका लागि अर्को गोल थपे।
उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित भए। यता एक अर्को सेमिफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गरी उपाधि नजिक पुगेको छ। कास्कीका लागि किशोर गुरुङ र राजकुमार कुँवरले समान २–२ गोल गरे। किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए।
सो खेलमा कास्कीका राजकुमार म्यान अफ दि म्याच प्राप्त गर्न सफल रहे। फाइनल खेल सोमबार दिउँसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिएका छन्।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताबाट दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुनेछन्।