काठमाडौं। शिवप्रसाद चौलागाईंले दुई गोल गरेसँगै महावीर क्लबले सहिद स्मारक सी डिभिजन लिगको अन्तिम खेलमा मनोहरा युनाइटेड क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा महावीरले मनोहरालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै महावीर सातौं स्थानमा उक्लिएको छ। महावीरको १३ खेलबाट १६ अंक रहेको छ। समान अंक भएपनि एक खेल कम खेलेको झम्सिखेल युथ क्लब गोल अन्तरले पछि पर्दै आठौं स्थानमा झरेको छ।
पराजित मनोहरा १५ अंकसहित नवौं स्थानमा छ। महावीर शिवले २० मिनेटभित्र नै दुई गोल गरेका थिए। सुरज थारुले पहिलो हाफको अतिरिक्त समयको पाँचौं मिनेटमा गोल गर्दै महावीरलाई ३-० को अग्रता दिलाए।
मनोहराका सञ्जय श्रेष्ठले ६९औं मिनेटमा गोल गरेपनि हारबाट जोगाउन सकेनन्।