काठमाडौं। उरुग्वेका सर्वाधिक गोलकर्ता लुइस सुआरेजले पाँचौं पटक कोपा अमेरिका खेल्ने भएका छन्। इन्टर मियामीबाट व्यवसायिक फुटबल खेल्दै आएका ३७ वर्षीय सुआरेज शनिबार राष्ट्रिय प्रशिक्षक मार्सेलो बिल्साले सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा अटाएका हुन्।
सुआरेजले सामाजिक सञ्जालमा आफू छनोट हुन पाएकोमा निकै खुसी र गौरवान्वित भएको बताएका छन्।
उनले सन् २०११ मा कोपा अमेरिका जितेका थिए र प्लेयर अफ द टुर्नामेन्ट बनेका थिए। सन् २०१६ को प्रतियोगिता लागि पनि उनलाई छनोट गरिएको थियो। तर, चोटले उनलाई बेन्चमा सीमित भए। सन् २०१९ र २०२१ मा उरुग्वे क्वार्टरफाइनलमा पुग्दा उनले खेलेका थिए। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा इटालिका डिफेन्डर जियोर्जियो चिलिनीलाई टोकेको कारण उनी निलम्बनमा समेत परेका थिए।
डार्विन नुनेजको ह्याट्रिकको मद्दतमा उरुग्वेले बुधबार डेन्भरमा भएको मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ४–० ले पराजित गरेको हो। लिभरपुलबाट खेल्ने नुनेजले आफ्नो पहिलो कोपा अमेरिका खेल्नेछन्। समूह 'सी' मा उरुग्वेले आयोजक अमेरिका, बोलिभिया र पानामाको सामना गर्नेछ। उरुग्वेले कोपाको पहिलो खेल जुन २१ मा मियामीमा पानामासँग खेल्दैछ।
उरूग्वेको टोलि:
गोलकिपरः सर्जियो रोचेत (अन्तर्राष्ट्रिय), सान्टियागो मेले (जुनियर), फ्रान्को इजरायल (स्पोर्टिङ लिस्बन)
डिफेन्डरः रोनाल्ड अराउजो (बार्सिलोना), जोसे मारिया गिमेनेज (एट्लेटिको मड्रिड), सेबेस्टियन कासेरेस (अमेरिका), निकोलस मारिचल (डायनामो), म्याथियास ओलिभेरा (नापोली), लुकास ओलाजा (क्रास्नोडार), माटियास भिना (फ्लामेन्गो), गुइलेर्मो भारेला (फ्लामेन्गो), नाहितान नान्डेज (काग्लियारी)।
मिडफिल्डरः म्यानुअल उगार्टे (पेरिस सेन्ट जर्मेन), रोड्रिगो बेन्टान्कुर (टोटनह्याम), फेडेरिको भाल्भर्डे (रियाल मड्रिड), इमिलियानो मार्टिनेज (मिड्जिल्यान्ड), निकोलस डे ला क्रुज (फ्लामेन्गो), जियोर्जियन डी अरास्काएटा (फ्लामेन्गो), अगस्टिन कानोबियो (पारानेन्स)।
फरवार्डः ब्रायन रोड्रिग्वेज (अमेरिका), ब्रायन ओकाम्पो (काडिज), फाकुन्डो पेलिस्ट्री (ग्रानाडा), म्याक्सिमिलियानो अराउजो (टोलुका), क्रिस्टिन ओलिभारा (डलास), डार्विन नुनेज (लिभरपुल), लुइस सुआरेज (इन्टर मियामी)।