पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल समीकरण पुरा भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमिफाइनल समीकरण पुरा भएको हो ।
खेलको दोस्रो दिन भएको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङ्जालाई टाइव्रेकरमा ४–३ ले स्तब्ध पारेको छ । निर्धारित समयमा दुवै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । स्याङ्जाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।
निर्धारित समयमा बलियो मानिएको स्याङ्जालाई म्याग्दीले आक्रामक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफ टाइम पछि स्याङ्जा खेलमा फर्कियो । स्याङ्जाका लागि सोम गुरुङ र अनीश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
यता कास्कीले आफ्नो होम ग्राउन्डको फाइदा उठाउँदै नवलपुर विरुद्धको खेल ४–० ले जितेको छ । खेलको ३३ औँ मिनेटमा विक्रम गौतमले नवलपुर विरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिए भने अभिषेक थापाले खेलको दोस्रो हाफमा व्यक्तिगत दुई गोल गरे । उनले ४५ औँ र ४८ औँ मिनेटमा गोल गरे भने ५४ औँ मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गरे ।
आयूष खड्काको ह्याट्रिकमा पर्वत विरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयूषले खेलको ४२, ४९ र ७८ औँ मिनेटमा गोल गरे । त्यस्तै निश्चल महतले ७१ औँ मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो ।
शनिबार नै सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङ विरुद्धको खेल ५–० को गोल अन्तरले जितेको छ । गोरखा विरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङले ह्याट्रिक पुरा मात्रै गरेनन् उनले ४ गोल गरे । सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३ औँ मिनेटमा एक गोल गरेका थिए ।
आइतबार सेमिफाइनलका खेलहरू सञ्चालन हुने संघका महासचिव विनोद गुरुङले जानकारी दिएका छन् । सेमिफाइनल अन्तर्गत म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँ अर्को सेमिफाइनलमा भिड्नेछन् ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।