पथरी । मोरङ जिल्लास्तरीय ‘ए’ डिभिजन फुटबल लिगमा युनाइटेड स्पोर्ट्स क्लब र सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भएका छन्।
बेलबारी रंगशालामा बिहीबार सम्पन्न खेलमा युनाइटेडले उर्लाबारी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्यो।
युनाइटेडको जितमा अनिल परियार र विशाल थारुले गोल गरे । सो खेलको म्यान अफ दी म्याच अनिल परियार घोषित भए । बिहिबार नै सम्पन्न दोस्रो खेलमा सम्राटले बेलबारी फुटबल क्लबमाथि ४-१ गोलको जित निकाल्यो।
सम्राटका प्रतीक लिम्बुले दुई गोल गरे । लिम्बूले खेलको १५ र ४५औं मिनेटमा गोल गरेका थिए। छबिलाल ठकुरीले २१औं मिनेटमा गोल गर्दा निशान राईले ४५ मिनेटमा गोल गर्दै ४-१ को जित दिलाए।
बेलबारी फुटबल क्लबका दिपक मगर ३५ मिनेटमा सान्त्वना गोल गरे । खेलको म्यान अफ दी म्याच सम्राटका प्रतीक लिम्बू घोषित भए ।
१० टोली सम्मिलित लिगको पुछारका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुने छन्।