काठमाडौं । क्रिस्टियानो रोनाल्डोसहितको पोर्चुगल युरोपियन च्याम्पियनसिप २०१२ को सेमिफाइनलमा स्पेनविरुद्ध हार बेहोरेको थियो । त्यही पोर्चुगिज टिमका व्यवस्थापक पाउलो बेन्टोले सम्हालेको युएई (युनाइटेड अरब इमिरेट्स) विरुद्ध नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२६÷एसियन कप २०२७ छनोटमा आज बेलुकी प्रतिस्पर्धा गर्दैछ ।
विश्वकप २०१४ मा पनि पोर्चुगलको मुख्य प्रशिक्षक रहेका बेन्टोले कतारमा सन् २०२२ मा भएको विश्वकपमा दक्षिण कोरियालाई पनि अन्तिम १६ सम्म पुर्याएका थिए । उनी गत वर्ष जुलाईमा युएईको टिम सम्हाल्न पुगेका हुन् । यस्तो हाई–प्रोफाइल प्रशिक्षकले सम्हालेको युएईविरुद्ध नेपालको प्रदर्शन कस्तो होला ?
वास्तवमै नेपाली टिम दक्षिण एसियाली फुटबलमा पनि राज गर्ने अवस्थामा छैन । र, एसियाली फुटबलकै सबभन्दा कमजोर क्षेत्र हो दक्षिण एसिया । यो महादेशमा आसियन (दक्षिण पूर्वी एसिया) चुनौती खाडी क्षेत्रका टिमहरूले दिइरहेका छन् । त्यसमध्येकै एक टिम हो युएई ।
इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सम्हालेको छ नेपाली टिम । उनी गोकुलम केरलालाई दुईपल्ट आई लिग (भारतको दोस्रो श्रेणीको प्रतियोगिता) च्याम्पियन बनाएपछि नेपाली टिम सम्हाल्न मार्च, २०२३ मा काठमाडौं आइपुगेका थिए । खेलाडीले अस्ट्रेलिया पलायनले पिरोलिएको उनको समयमा नेपालको प्रदर्शन खास गतिलो छैन । एकरुपको प्रदर्शन छैन । उनले सम्हालेको नेपाली टिमले कस्तो खालको फुटबल खेल्छ भन्ने पनि प्रष्ट देखिएको छैन ।
बेन्टोको टिम युएई सन् १९९० यता पहिलोपल्ट विश्वकप खेल्ने अभियानमा रहेको छ । दुई वर्षप्छि हुने विश्वकपमा ४८ टिमले खेल्दैछ, जसमा एसियाली टिमको कोटा चारबाट आठ बनाइएको छ । अर्को एक टिमले प्लेअफमा अवसर पाउने छ । यसले पनि युएईको विश्वकप खेल्ने संभावनालाई नजिक बनाएको छ । फिफा वरीयताको ६७ औं स्थानमा रहेको युएई आफैले पनि राम्रो प्रदर्शन गरिरहेको छ । युएई टिममा ब्राजिली मूलका खेलाडीहरू पनि छन् ।
युएईले छनोटका चार खेलमा शतप्रतिशत जितसहित तेस्रो चरणमा स्थान सुरक्षित गरिसकेको छ । ठीक उल्टो छ नेपालको प्रदर्शन । शतप्रतिशत हारसहित नेपाल समूहको पुछारमा रहेको छ । फिफा वरीयताको १७८ औं स्थानमा रहेको अंक जोड्ने त के गोलको खाता खोल्न पनि सकेको छैन । विश्वकप छनोटको दोस्रो चरणबाट बाहिरिने निश्चित भइसकेको छ । त्यसैले प्रिन्स मोहमद बीन फाहद रंगशालामा नेपाललाई सजिलो हुने छैन ।
खेल कौशल र शारिरीक रुपमा नेपाली टिमभन्दा युएई धेरै बलियो छ । युएईलाई सुहाउँदो दमामको मौसमले उसलाई थप बलियो बनाएको छ । भिन्सेन्जोको टिमले युएईलाई रोक्दै अंक जोड्ने लक्ष्य बनाएको छ । तर, उनलाई साँघुरो हारले पनि राहत दिनसक्छ । किनभने गत नोभेम्बरमा दुबईमा भएको खेलमा युएईले नेपाललाई ४–० ले हराएको थियो । यो दोस्रो चरणको छनोटमा १४ गोल बेहोरेको नेपालको लागि युएईविरुद्ध गोल गर्नु पनि नेपालको लागि सकारात्मक नै हुनसक्छ ।