एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत पराजित भएको छ । शनिबार भएको पहिलो खेलमा भारत अष्ट्रेलियासंग ३४ रनले पराजित भएको हो ।
सिड्नीमा रोहित शर्माले शतकीय इनिङस खेलेपनि भारत पराजित भयो । अष्ट्रेलियाले दिएको २८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन मात्र बनाउन सक्यो ।
भारतका लागि रोहितले १३३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । यस्तै भारतका लागि महेन्द्र सिंह धोनीले ५१ रनको अर्धशतकीय इनिङस खेले । योसंगै धोनीले एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गरेका छन् ।
भारतका कप्तान विराट कोहली ३ रनमा आउट भए । अष्ट्रेलियाका एभोन रिचार्डसनले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर २८८ रन जोडेको थियो । अष्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकोम्बले ७३ रनको अर्धशतकीय इनिङस खेले । यस्तै उस्मान ख्वाज्वा ५९ तथा शौन मार्श ५४ रनको योगदान दिए ।
भारतका भुवनेश्वर कुमार र कुलदिप यादवले समान २/२ विकेट लिए ।
पहिलो एकदिवसीयमा जित निकालेसंगै अष्ट्रेलिया तीन खेलको सिरिजमा १ - ० ले अग्रता बनाएको छ । योसंगै अष्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजारौं जित आत्मसात गरेको छ ।
दुईबीचको दोस्रो एकदिवसीय मंगलबार एडिलेटमा हुनेछ । घरेलु टोली अष्ट्रेलियाले टेष्ट सिरिज भने गुमाएको छ ।