काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भइसकेको बागमती क्लबले रेलिगेसन क्षेत्र रहेको गोलबजार स्पोर्ट्स क्लबमाथि सानदार जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा बागमतीले गोलबजारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै बागमती १२ खेलबाट २९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बागमतीले नवौ खेलमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ ।
पराजित गोलबजार समान खेलबाटएक जित, चार बराबरी र सात हारसहित ७ अंक जोडेर पुछारमा रहेको छ । खेलको ११औं मिनेटमा अनिल रानामगरले गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाए । २८औं मिनेटमा सिर्जनराज गौतमले गोल गर्दा बागमती २–० ले अघि रह्यो । ५४औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । त्यसको दुई मिनेटपछि नै राज भुषालले गोल गर्दै बागमतीको अग्रता ४–० मा पु¥याएका थिए ।
दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा बिनु आलेमगरले पेनाल्टीमार्फत गोल गरेपनि गोलबजारले हार टार्न सकेन ।