काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्काको वरीयतामा सुधार भएको छ ।
आईसिसीले शनिबार सार्वजनिक गरेको नयाँ वरीयताको ब्याटिङतर्फ शीर्ष सय भित्र परेका कप्तान पारसको वरीयता एक स्थान सुधार भएको हो । कप्तान पारस एक स्थान सुधार गर्दै ९६ औं स्थानमा रहेका छन् । २६५ अंक पाएका पारस यसअघि ९७ औं स्थानमा रहेका थिए ।
यस्तै कप्तान पारस अलराउन्डरतर्फ यथावत रहेका छन् । शीर्ष ५० भित्र अटाएका पारसले ६८ अंकसहित ४२ औं स्थान हात पारेका छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अंकसहित ६४ औं स्थानमा यथावत रहेका छन् ।
बलिङतर्फ नेपालका बसन्त रेग्मी र सोमपाल शीर्ष १०० भित्र अटाएका छन् । बसन्त ३९७ अंक प्राप्त गर्दै ७४ औं स्थानमा यथावत रहेको छन् । यस्तै ३३८ अंक जोडेका सोमपाल एक स्थान तल झर्दै ९३ औं स्थानमा पुगेका छन् ।
आईसिसीको टी-ट्वान्टी ब्याटिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो, वेष्ट इण्डिजका इभान लेविस चौथो र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा रहेका छन् ।
बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहदा पाकिस्तानका शदाब खान दोस्रो स्थानमा रहेका छन् । भारतका कुलदीप यादव तेस्रो, न्युजिल्यान्डका इश सोधी चौथो र इंग्ल्यान्डका आदील राशिद पाँचौ स्थानमा रहेका छन् ।
अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहदा बंगलादेशका शाकिब अल हसन दोस्रो स्थानमा रहेका छन् । यस्तै अफगानिस्तानका मोहमद नाबी तेस्रो, बंगलादेशका मोहमद महुदुल्लाह चौथो र श्रीलंकाका थिसरा परेरा पाँचौ स्थानमा रहेका छन् ।