काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले 'अवे म्याच'मा खेल्दा दर्शकको ‘सपोर्ट’ नपाईने गुनासो ब्यक्त गरेका छन् ।
विश्वकप छनोटमा यूईएसँगको होम म्याच खेल्न साउदी अरब जान लागेका राष्ट्रिय टिमका कप्तान चेम्जोङले अवे म्याच खेल्दा दर्शकको सपोर्ट नपाईने गुनासो गरेका हुन् ।
'होम म्याच खेल्दा घरमा खेल्नुको फाइदा हुन्छ । १२ औं खेलाडीको रुपमा दर्शकको साथ पाउँदा आत्मविश्वास अर्कौ हुन्छ ।' चेम्जोङले भने, 'अवे म्याच खेल्दा फ्यानको सपोर्ट पाईदैन, जति नेपाली हुनुहुन्छ, त्यहाँ (साउदी अरब)मा आएर सपोर्ट गर्नुहुन्छ भन्ने विश्वास छ ।'
कप्तान चेम्जोङले दशरथ रंगशालामा जस्तो मैदानको फाईदा र घरेलु दर्शकको फाईदा हुने बताए ।
यूएईसँगको होम म्याच दशरथ रंगशालाको असक्षमताका कारण साउदी अरबमा सरेको छ । रंगशालाको पिच, फ्लड लाईट र सुरक्षाका कारण एसियाली फुटबल महासंघ एएफसीले नेपालमा विश्वकप छनोटको म्याच खेलाउन नसकिने बताएको थियो ।
नेपालले बैकल्पिक मैदानको रुपमा आफ्नो होम म्याच साउदी अरबमा खेल्न राजी भएको हो ।
कप्तान चेम्जोङले यूईएसँग खेल्न आफुहरुको तयारी राम्रो रहेको बताए ।
पहिलो लेगको खेल समय अभावका कारण राम्रो तयारी गर्न नसकेको उल्लेख गर्दै दोस्रो खेलमा नेपालले सुधारिएको प्रर्दशन गर्ने बताए ।