काठमाडौं । बेम्बली रंगशालामा आज मध्यरात हुने च्याम्पियन्स लिग फाइनलमा प्रमुख खेलाडीहरूको प्रतिस्पर्धा पनि हो । सन् २०२३–२४ सिजनको ‘क्लाइमेक्स’मा कीर्तिमान १४ पल्टको च्याम्पियन रियल म्याड्रिडले फेरि युरोपको सबभन्दा ठूलो पुरस्कारको लागि बोरुसिया डर्टमन्डविरुद्ध खेल्दैछ ।
रियलले पछिल्लो दशक पाँचपल्ट च्याम्पियन्स लिगको उपाधि जितेको छ भने डर्टमन्ड सन् १९९७ यता पहिलोपल्ट युरोपेली च्याम्पियन बन्ने अभियामा रहेको छ । स्पेनी महारथीले सेमिफाइनलमा बायर्न म्युनिखलाई हराएको थियो भने डर्टमन्ड फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनलाई स्तब्ध पार्दै अन्तिम खेलमा उभिएको हो ।
यो सिजनको च्याम्पियन्स लिग फाइनलमा खेलाडीहरूको मुख्य प्रतिस्पर्धा :
भिनिसियस जुनियरविरुद्ध म्याट ह्युमेल्स
डर्टमन्डको च्याम्पियन्स लिग फाइनलको यात्रामा म्याट ह्युमेल्सले रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेका छन् । तर, उनले सबभन्दा ठूलो चुनौतीको रुपमा भिनिसियस जुनियरको सामना गर्दैछन् ।
यो सिजनको च्याम्पियन्स लिगमा ब्राजिलियन विंगर भिनिसियसले ५ गोल र ५ असिस्ट गरेका छन् । उनले स्पेनी ला लिगाको उपाधि जित्ने क्रममा थप १५ गोल र ६ असिस्ट पनि गर्न भ्याए ।
भिनिसियस बाँयातिरबाट तीब्र गतिमा बल अगाडि बढाउन माहिर छन् । त्यसैले उनी जुनसुकै टिमका डिफेन्डरका लागि कठिन चुनौती बन्ने गरेका छन् । तर, ह्युमेल्सको रक्षात्मक खेल उत्कृष्ट छ । पोजिसनको हिसाबले फाइनलमा हेर्नका लागि भिनिसियसविरुद्ध ह्युमेल्सको खेल आकर्षक हुनेछ ।
इमरे चानविरुद्ध जुड बेलिंघम
जुड बेलिंघमले रियल म्याड्रिडमा उत्कृष्ट सिजन सुरुआत गरेका छन् । उनले ला लिगमा १९ गोल गरेका थिए भने थप ४ गोल च्याम्पियन्स लिगमा गरेका छन् । त्यसैले उनी यो सिजन रियलको लागि सर्बाधिक गोलकर्ता भएर सिजन टुंग्याउयन चाहन्छन् ।
‘लोस ब्लान्कोस’को लागि ‘फल्स नाइन’ मा खेलिरहेका बेलिंघम पेनाल्टी क्षेत्रमा ढिला पपुगेर पनि क्रसलाई उपयोग गरिरहेका छन् । तर, उनलाई फाइनलमा आफ्नो पूर्वक्लबका इमरे चानलाई पन्छाउनैपर्ने जिम्मेवारी रहेको छ ।
मिडफिल्डर इमरे जर्मन क्लबका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी हुन् । ३० वर्षीया उनले यो सिजन ९० मिनेटमा २।६२ को औसतमा ट्याकल र १।३९ को औसतमा ब्लक गरिरहेका छन् । उनलाई बेलिंघमसहित रियलको आक्रामण रोक्नैपर्ने जिम्मेवारी छ ।