काठमाडौं। साउदी अरेबियामा सम्पन्न किंग्स कपको फाइनलमा अल–हिलालसँग पराजित भएपछि क्रिस्टियानो रोनाल्डोले आँसु झार्दै मैदान छाडे ।
जेद्दाहमा भएको खेलमा हिलालले पेनाल्टी सुटआउटमा ५–४ को जित ११औं पटक प्रतियोगिताको उपाधि जितेको थियो।
सन् २०२२ को डिसेम्बरमा नासरमा अनुबन्धित भएका रोनाल्डो निराश भएर भुइँमा सुतेका थिए। उनलाई किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा टोलीका खेलाडीहरूले सान्त्वना दिइरहेका थिए।
चार दिनअघि सम्पन्न साउदी प्रो लिगको अन्तिम खेलमा अल–इत्तिहादविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सिजनमा ३५ गोलको नयाँ कीर्तिमान कायम गरेका थिए। यद्यपि, नासर अल–हिलालभन्दा १४ अंकले पछि पर्दै दोस्रो स्थानमा रह्यो।
किंग्स कपमा दुई गोल र तीन रातो कार्डको प्रयोग भएको थियो। सातौं मिनेटमै एलेक्जान्डर मिट्रोभले गोल गर्दै हिलाललाई सुरुआती अग्रता दिलाएका थिए।
आर्सनल र नापोलीका गोलकिपर डेभिड ओस्पिनाले दोस्रो हाफको सुरुमै बललाई मैदान बाहिर लगेको भन्दै रातो कार्ड पाउँदा नासर १० खेलाडीमा समेटियो।
८६औं मिनेटमा हिलालका अली अल–बुलेहीले सामी अल–नजेईलाई फउल गरेपछि पनि रातो कार्ड पाए। ८८औं मिनेटमा आयमन याह्याले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए।
९०औं मिनेटमा गत समरमा चेल्सीबाट अनुबन्धित कालिडोउ कोउलिबेलीले दोस्रो पहेंलो कार्ड पाउँदा हिलाल ९ खेलाडीमा समेटिएको थियो।
अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
पोस्टमा उत्कृष्ट ओभरहेड किक प्रहार गरेका रोनाल्डोले पेनाल्टीलाई गोलमा परिणत गरे पनि सन् २०२२ को विश्वकपमा मोरक्कोलाई सेमिफाइनलमा पुर्याएका बाउनोउले दुई प्रहार बचाउ गरेपछि हिलाल विजयी भएको थियो।