काठमाडौं। रियल मड्रिडले युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा आफ्नो दबदबा कायम राखेको छ।
प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई च्याम्पियन्स लिग फाइनलको पूर्वसन्ध्यामा सोधिएको थियो- तपाईं यसलाई कसरी व्याख्या गर्नुहुन्छ?
उनले सरल जवाफ दिँदै भने,‘यो क्लबमा केही विशेष कुरा छ। कुन कारणले यति धेरै उपाधि रियलले जित्यो त्यो मलाई थाहा छैन। तर, यसको अध्ययन गर्न जरुरी छ।’
दुई वर्षअघि अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) र सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियल च्याम्पियन्स लिगको उपाधिनजिक पुगेको थियो।
इङ्लिस क्लब लिभरपुलसँग भएको उपाधि भिडन्तमा भिनिसियस जुनिअरले निर्णायक गोल गर्दै रियललाई कीर्तिमानी १४औं पटक उपाधि दिलाए। यसपटक फाइनल पुगेको रियलले क्वार्टरफाइनलमा प्रिमियर लिग विजेता सिटी र सेमिफाइनलमा बायर्न म्युनिखलाई पाखा लगायो।
कप्तान नाचो भन्छन्, ‘रियल यस प्रतियोगिताको एक विशेष टोली हो भनेर फुटबल मन पराउने सबैलाई थाहा छ। त्यसैले हामी जितिरहन चाहन्छौं।’
बुरुसिया डर्टमन्डविरुद्ध जिते रियलले कीर्तिमानी १५औं युरोपियन कप उचाल्ने छ। एन्सेलोट्टीले प्रशिक्षकका रुपमा कीर्तिमानी पाँचौं पटक च्याम्पियन्स लिगको उपाधि जितेर नयाँ कीर्तिमान पनि कायम गर्न सक्छन्।
नाचो भन्छन्, ‘जब च्याम्पियन्स लिगमा गान बज्छ, हामी भावुक हुने गर्दछौं। यति धेरै ट्रफी जित्नु विशेष कुरा हो। तर, ठूलो जिम्मेवारी पनि हो।’
रियल च्याम्पियन्स लिग युगको नवौं र पछिल्ला तीन सिजनमा दोस्रो उपाधि जित्ने प्रबल दाबेदार हो। जर्मन लिगमा पाँचौं स्थानमा रहेको डर्टमन्डको टोली च्याम्पियन बायर लेभरकुजनभन्दा २७ अंकले पछि परेको थियो। तर, डर्टमन्ड कमजोर टोली भने होइन। सन् १९९७ मा यो टोलीले डिफेन्डिङ च्याम्पियन युभेन्ट्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
यसपटक डर्टमन्ड रियलको स्टार टोलीसँग मात्र होइन, इतिहासको वजनसँग पनि लड्नेछ। यसका लागि आफ्नो टोली तयार रहेको प्रशिक्षक एडिन टेर्जिच बताउँछन्।
‘हामी उच्चस्तरमा प्रतिस्पर्धा गर्न तयार छौं। यो स्टेजमा रियललाई हराउन असम्भव छैन। हामी आफ्नो भूमिकामा स्पष्ट छौं।’ डर्टमन्डले क्वार्टरफाइनलमा एट्लेटिको मड्रिड र र सेमिफाइनलमा पिएसजीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
सन् २०१३ मा वेम्बलीमा भएको च्याम्पियन्स लिगको फाइनलमा डर्टमुन्ट बायर्न म्युनिखसँग पराजित भएको थियो। त्यसयता डर्टमुन्टको यो तेस्रो फाइनल हो। त्यसैले यसपटक उपाधि उचाल्नेगरी तयार भएर आएको टेर्जिच सुनाउँछन्।
‘रियलले ट्रफी कसरी उचाल्छ भनेर हेर्न हामी यहाँ आएका होइनौं। हामी हाम्रो साहस देखाउन आएका हौं। त्यसका लागि तयार छौं,’ उनले भने।