काठमाडौं । प्राराम्भिक टिममा समावेश नगरेपनि स्टार स्ट्राइकर आयुष घलान ६ महिनापछि नेपाली राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । उनी विश्वकप २०२६/एसियन कप २०२७ छनोटमा युएई र यमनविरुद्ध हुने बाँकी दुई खेलका लागि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय टिममा फर्किएका हुन् ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्राराम्भिक चरणमा बोलाइएका २८ खेलाडीमा आयुष थिएनन् । उनी गत नोभेम्बर, २०२३ मा युएई (अवे) र यमन (होम म्याच) विरुद्ध भएका खेलपछि टिमबाहिरै थिए । ‘उनी (आयुष) राम्रा खेलाडी हुन्,’ राष्ट्रिय टिमका व्यवस्थापक उत्तमराज भण्डारीले भने, ‘पहिला टिममा बोलाउँदा पनि उनी आएका थिएनन् । त्यसैले टिमबाहिरै थिए । यसपालि २८ सदस्यीय प्राराम्भिक टिममा थिएनन् । तर, राम्रा खेलाडी भएकाले उनलाई हामीले पछि बोलाएका थियौं । त्यसैले उनी टिममा फर्किएका छन् ।’
एन्फा कम्प्लेक्स, सातदोबाटोमा भइरहेको प्रशिक्षणमा आयुष शुक्रबार आधा समय ट्रेनिङ गरेपछि स्नातक तहको परीक्षा दिन निस्किएका थिए । नेपाल सुपरलिग (एनएसएल) मा पोखरा थन्डर्सका ‘मार्की प्लेयर’ रहेका २० वर्षीया उनले एनएसएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । २०२१ जुनमा विश्वकप २०२२ छनोटमा अस्ट्रेलियाविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । त्यसपछि उनी गत नोभेम्बरसम्म टिममा नियमित थिए ।
एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दैछ । छनोटको अन्तिम प्रतिस्पर्धाको रुपमा यमनविरुद्ध ११ जुनको ‘अवे म्याच’ पनि साउदीमै हुदैछ ।
प्राराम्भिक टिमका २८ खेलाडीमध्ये स्ट्राइकर अन्जन विष्ट, समीर तामाङसहित दिनेश हेन्जन, उत्सव राई, योगेश गुरुङ, राजेश परियार र फत्तेमान घले चोटका कारण बाहिरिएका छन् । त्यसैले आयुषसहित आशिष राई, नीरज शाह, नीराजन धामी, वसन्त जिम्बालाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । त्यसमध्ये नीराजन घर फर्किसकेका छन् ।