काठमाडौं । अतिरिक्त समयमा फियोरेन्टिनालाई पराजित गर्दै ओलम्पियाकोसले पहिलो पटक युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ ।
ओपिएपि एरेनामा बुधबार राति सम्पन्न खेलमा अयुब एल काबीले नाटकीय गोल गरेसँगै ओलम्पियाकोस १–० ले विजयी भएको हो । खेलको ११६ औं मिनेटमा सान्टियागो हेज्जेको क्रसमा गोल मोरोक्कोका स्ट्राइकरले गोल गरेका थिए ।
उक्त गोल अफसाइडको लागि भिएआर चेक गरिएको थियो । तर, लामो प्रतिक्षापछि रेफ्रीले उक्त गोललाई मान्यता दिए ।
‘भगवानको जय होस् । हामीले हाम्रा समर्थकहरूलाई उपाधि दिलाउने प्रतिज्ञा गरेका थियौं र त्यो पूरा गर्यौं,’ काबीले भने ।
फाइनलको सुरुआती चरणमा पाहुना टोलीको दबदबा रहे पनि फियोरेन्टिनाका गोलकिपर पिएत्रो टेरासियानोले चौथो मिनेटमा ड्यानियल पोडेन्स र अतिरिक्त समयको छैटौं मिनेटमा स्टेभान जोभेटिकको प्रहारलाई रोकेका थिए ।