एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्डेया र केएल राहुललाई भारतीय क्रिकेट टिमबाट निलम्बित गरिएको छ । एक टेलिभिजन शोमा महिला माथि गरिएको आपत्तिजनक टिप्पणीलाई लिएर दुवै जनालाई भारतीय टिमबाट निलम्बित गरिएको हो ।
पछिल्लो कारबाहीले दुवै खेलाडी भोली (शनिबार) बाट सुरु हुने अष्ट्रेलियाविरुद्वको वान डे सिरिजबाट समेत बाहिरिएका छन् ।
कमिटि अफ एडमिनिस्टे«शनका अध्यक्ष विनोद रायले अनुसन्धान प्रक्रिया पुरा नहुन्जेल दुवैलाई निलम्बित गरिएको बताएका छन् ।
टक शोको समय अलराउण्डर हार्दिक पाण्डेया र केएल राहुलले महिला विरोधी टिप्पणी गरेको भन्दै चर्को आलोचना भएको थियो ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पाण्डेया र राहुललाई गत बुधबार घटनाको बिषयमा स्पष्टिकरण माग गरेको थियो ।
दुवै खेलाडीले स्पष्टिकरण दिदै बोर्ड र प्रशासनिक समितिमा माफी मागेका थिए । पाण्डेयाले सामाजिक सञ्जालमा समेत माफी मागेका थिए ।
शोमा पाण्डेयाले महिलासंग राखिएको शारिरिक सम्बन्धका बिषयमा बोेलेका थिए । उनले सो बिषयमा आफ्ना आमा बुवासंग समेत खुल्ला रुपमा छलफल हुने बताएका थिए ।
दुवै खेलाडी अष्ट्रेलियाविरुद्वको सिरिजका लागि टोलीमा समावेश थिए । अनुसन्धान पुरा नहुदाँ सम्म दुवै खेलाडीलाई निलम्बित गर्ने निर्णय गरिएको छ ।