काठमाडौँ। सन् २०२३ मा नेपालले १२ खेलमा चमत्कारी प्रदर्शन गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो। त्यसलगत्तै भएको एसीसी प्रिमियर लिगमा पनि नेपालले उस्तै सानदार प्रदर्शन गर्यो। आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह चरणमा अपराजित रह्यो।
समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेको नेपालले साउदी अरबसँगको खेल भने वर्षाका कारण खेल्न पाएन। यद्यपि, अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले बलियो प्रतिद्धन्द्धी यूएईलाई पाखा लगायो।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई १३४ रनमा रोकेको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १७ बल बाँकी छँदै २ विकेट गुमाएर फाइनलमा स्थान बनायो। योसँगै नेपालले टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको थियो। तर, उपाधि भिडन्तमा भने नेपाल सुपर ओभरमा ओमानसँग पराजित हुन पुग्यो।
महत्त्वपूर्ण खेलाडी
गत वर्ष नेपालका कप्तान रोहितकुमार पौडेलले १३ इनिङ्समा ५०.३७ को औसतमा ४०३ रन बनाएका थिए। वेस्ट इन्डिज 'ए' विरुद्ध घरेलु मैदानमा भएको शृंखलामा एक शतक र दुई अर्धशतकसहित चार खेलमा २६५ रन बनाएका उनी उत्कृष्ट फर्मका साथ टी–२० विश्वकपमा प्रवेश गर्दैछन्।
दीपेन्द्रसिंह ऐरीले पछिल्लो १२ महिनामा टी–२० को ५६ इनिङ्समा १ हजार ६२६ रन बनाएका छन्। गत वर्ष उनले एशियाली खेलकुदमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो (९ बलमा) टी–२० अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए। हालै उनले कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए। ऐरी एक राम्रा अफ स्पिनर पनि हुन्।
उनले टी–२० मा ३७ विकेट लिइसकेका छन् र उनी राम्रो फिल्डर पनि हुन्। २० वर्षीय कुशल मल्लले गत वर्ष मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रियमा दोस्रो सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका थिए। सन् २०२३ मा उनले १२ इनिङ्समा १९३.२६ को स्ट्राइक रेटमा ४०२ रन बनाएका थिए। टी–२० अन्तर्राष्ट्रियमा ६.१८ को इकोनोमीमा १९ विकेट लिएका मल्ल बायाँ हाते स्पिन बलर पनि हुन्।
ठूला प्रतियोगितामा नेपाल
सन् २०१४ पछि नेपालको यो पहिलो टी–२० विश्वकप हो। नेपालले गत वर्ष सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो। तर, ठूला टोलीसँग प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। सन् २०२३ मा नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाए पनि भारत र पाकिस्तानसँग पराजित भएको थियो।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुलसनकुमार झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी।