इलाम। एन्फा इलाम जिल्ला लिगमा देउराली स्पोर्टिङ् क्लब र रेडहर्स फुटबल क्लबले जित निकालेका छन्। ठूलो टुँडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्लबमाथि ३–१ गोल अन्तरको जित निकालेको हो।
देउरालीको जितमा विनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे। जस्बिरेका मन मगरले १ गोल फर्काए। सुमनले २४औँ मिनेटमा अग्रता दिलाए। दोस्रो हाफको विनोदले ६ र २६ मिनेटमा गोल गरे।
मनले दोस्रो हाफको अन्तिम मिनेटमा सान्त्वना गोल गरे। जितसँगै देउरालीले ३ अंक बटुलेको छ। दोस्रो खेलमा रेडहर्सले क्लब ओएसीसलाई ४–२ गोल अन्तरले पराजित गरेको छ।
सुरुवाती अग्रता जोगाउन नसक्दा ओएसीसले ३ अंक जोगाउन सकेन। खेलको सातौँ मिनेटमा निग्मा गुरुङले ओएसीसलाई सुरुवाती अग्रता दिलाए। १३औँ मिनेटमा पाल्देन तामाङले खेल बराबरीमा ल्याए। पेनाल्टीमार्फत गोल गर्दै उनले खेल बराबरीमा ल्याएका हुन्।
२३औँ मिनेटमा साङगे शेर्पाले रेडहर्सलाई अग्रता दिलाए। २७औँ मिनेटमा साङ्गेले व्यक्तिगत दोस्रो गोल गरे। २९औँ मिनेटमा दीपेश राईले गोल गर्दै खेल ४–१ को अवस्थामा पुर्याए। निग्माले दोस्रो हाफको १८औँ मिनेटमा व्यक्तिगत गोल गरे पनि जितका लागि पर्याप्त भएन। प्रतियोगिताअन्तर्गत मंगलबार माईभ्याली फुटबल क्लब र हेलिबोध एफसी भिड्नेछन्।