काठमाडौँ। मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लाटलान क्लब बार्सिलोनाले गरेको निर्णय स्वीकार गर्ने बताएका छन्। क्लबले शुक्रबार उनलाई बर्खास्त गरेको थियो।
आइतबार सेभियालाई २–१ गोल अन्तरले पराजित गरेको खेलमा जाभीले बार्सिलोनाबाट बिदा लिएका थिए। बिदा लिँदै उनले भने, ‘हामी यो अन्त्य होस् भन्ने चाहन्थ्यौँ तर यो क्लबले गरेको निर्णय हो। हामीले उपाधि जित्न सकेनौँ। तर, हामी सही बाटोमा थियौँ। फुटबल यस्तै छ, निर्देशकहरूले आफ्नो निर्णय गर्नेछन्। खेलाडीहरूको प्रदर्शन अद्भुत थियो।’
जाभीले अप्रिलमा सन् २०२५ को जुनसम्म क्लबमा रहने निर्णय गरेका थिए। त्यसअघि उनले जनवरीमा समरको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका थिए।
गत महिना जाभीले निर्णयमा फेरबदल गर्दै नयाँ सम्झौता गरेका थिए। तर, पुन: अवस्थामा फेरबदल भएको थियो। बार्सिलोनाले दोस्रो स्थानमा रहेर ला लिगा सिजनको अन्त्य गरेको छ। रियल मड्रिड यस सिजन ला लिगाको च्याम्पियन रह्यो।