काठमाडौँ। झम्सिखेल यूथ क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा पुनरागमन जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार सम्पन्न खेलमा रानीवन स्पोर्ट्स क्लबमाथि झम्सिखेलले २–१ गोल अन्तरको जित हासिल गरेको हो।
जितसँगै १० खेलबाट १६ जोडेको झम्सिखेल पाँचौँ स्थानमा उक्लिएको छ। पराजित रानीवन समान खेलबाट ७ अंक जोड्दै १२औँ स्थानमा यथावत् छ।
झम्सिखेलको जितमा आकाशबहादुर राणा र अस्मित थापामगरले गोल गरे। रानीवनमा श्याम ब्यादीले सान्त्वना गोल गरे।
खेलको तेस्रो मिनेटमै श्यामले गोल गर्दै रानीवनलाई शुरूआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा आकाश (५४औँ) र अस्मित (७४औँ) गोल गर्दै झम्सिखेललाई पुनरागमनद जित दिलाए।