काठमाडौँ। फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिराउडले अर्को महिना हुने युरोपियन च्याम्पियनसिपपछि आफ्नो अन्तर्राष्ट्रिय करिअरबाट सन्न्यास लिने योजना बनाएको बताएका छन्।
३७ वर्षीय फरवार्डले फ्रान्सका लागि १३१ खेलमा ५७ गोल गरेका छन्। उनी सन् २०१८ को विश्वकप विजेता फ्रान्सको टोलीका सदस्य थिए र उनलाई युरोमा खेल्नका लागि छनोट गरिएको थियो।
‘लेस ब्लेससँग मेरो अन्तिम प्रतिस्पर्धा हुनेछ। पक्कै पनि, म यसलाई धेरै मिस गर्नेछु। हामीले युवाका लागि बाटो बनाउनुपर्छ,’ उनले भने।
जिराउडले हालै लस एन्जलस एफसीसँग एमएलएसमा खेल्ने सम्झौतामा गरेका छन्। फ्रान्स, इङ्ल्यान्ड र इटालीमा शीर्ष व्यावसायिक लिग खेलेका उनले १८ वर्षपछि युरोप छोडेका हुन्।
एसी मिलानबाट एन्जलस एफसी आबद्ध भएका उनले एक सिजन खेल्ने छन्। उनलाई सन् २०२६ का लागि एक वर्ष सम्झौता ल्याउने विकल्प दिइएको छ।
‘म शारीरिक र मानसिक रूपमा थकित महसुस गरिरहेको छु। मेरो शरीरले मलाई प्रश्न गरेपछि म रोकिनेछु। तर, मसँग दुई वर्ष बाँकी छजस्तो लाग्छ। जहाँसम्म फ्रान्सेली टोलीको कुरा छ, मलाई लाग्छ अब छाड्नुपर्छ,’ उनले भने।
जिराउडले सन् २०१२ देखि २०१८ सम्म आर्सनलमा ६ सिजन बिताएका थिए। यस्तै, चेल्सी र मिलानमा ३/३ वर्ष बिताएका थिए।
३ वर्षअघि चेल्सीले च्याम्पियन्स लिगको उपाधि जित्दा उनी महत्त्वपूर्ण सदस्य थिए। उनले आफ्नो क्लब करिअरका ७१६ खेलमा २८५ गोल गरेका छन्। उनले सन् २०१२ मा मोन्टपेलियरबाट फ्रेन्च लिग र १० वर्षपछि मिलानबाट इटालियन लिग जितेका थिए।
युरोपियन च्याम्पियनसिप अर्को महिना जर्मनीमा शुरू हुनेछ। दुई पटक विश्वकपको उपाधि जितेको फ्रान्स अस्ट्रिया, नेदरल्यान्ड्स र पोल्यान्डसँगै एकै समूहमा छ।