काठमाडौँ। एफए कपको फाइनल खेलअघि प्रशिक्षक एरिक टेन हाग अर्को सिजन म्यानचेस्टर युनाइटेडमै दोहोरिनेमा आशावादी देखिएका छन्।
नेदरल्यान्ड्सका प्रशिक्षकको नेतृत्वमा खेलिरहेको युनाइटेडको ३४ वर्षयताकै सबैभन्दा खराब लयमा रहेको छ। यसपटक युनाइटेडले इङ्लिस प्रिमियर लिग आठौँ स्थानमा रहेर अन्त्य गरेको छ।
शुक्रबार वेम्बलीमा लिग च्याम्पियन म्यानचेस्टर सिटीविरुद्धको खेलमा जित हासिल गरे पनि उनलाई बर्खास्त गर्ने तयारी गरिएको बेलायती सञ्चारमाध्यमहरूले बताएका छन्।
यद्यपि, उनले सिजनको समीक्षा गर्न नयाँ सह-मालिक जिम र्याटक्लिफलाई पहिले नै भेटेका थिए। ‘यो आवश्यक छैन, हामी अर्को सिजनका लागि जान्छौँ। म आइतबार बिदामा जान्छु,’ उनले भने।
माउरिसियो पोचेटिनो, थोमस टुचेल, किरन म्याककेना, थोमस फ्रान्क र इङ्ल्यान्डका प्रशिइक ग्यारेथ साउथगेटसहित टेन हागको सम्भावित उत्तराधिकारीका रूपमा यसअघि नै धेरैको नाम उल्लेख गरिएको छ।
बेलायती अर्बपति र्याटक्लिफले गत फेब्रुअरीमा युनाइटेडको २७.७ प्रतिशत सेयर किनेका थिए। तत्काल टेन हागलाई च्याम्पियन्स लिगका लागि छनोट गराउन आदेश दिएका थिए।
युनाइटेडका पूर्वप्रशिक्षक डेभिड मोयस र लुइस भान गाललाई च्याम्पियन्स लिगबाट बाहिरिएपछि बर्खास्त गरिएको थियो। जोसे माउरिन्हो र ओले गनर सोल्सजायरलाई भने लिग जारी रहँदा बर्खास्त गरिएको थियो।
युनाइटेडले एफए कप जिते युरोपा लिगमा आफ्नो स्थान सुरक्षित गर्ने छ। फाइनलअघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टेन हागप्रति सहानुभूति व्यक्त गरेका छन्।
युनाइटेडले फाइनलका लागि डिफेन्डर ह्यारी मागुइरे र ल्यूक शाबिना खेल्नेछ । तर, ग्वार्डिओलाले भने ट्रफी बाँड्न नसके आफ्नो समकक्षीमाथि दबाब पर्ने स्वीकार गरेका छन् ।
‘त्यसैले युनाइटेड र सिटीजस्ता ठूला क्लबले जित हासिल गर्न नसकेमा सधैँ समस्यामा पर्छन्। यो कुनै गोप्य कुरा होइन,’ उनले भने, ‘हामीले जे गर्नुपर्छ त्यही गरेका छौँ। तर, यदि हामीले जित्न सकेनौँ भने म समस्यामा पर्नेछु।’