काठमाडौँ। स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर ओरेलियन चुवामेनीले च्याम्पियन्स लिगको फाइनल खेल गुमाउने भएका छन्।
खुट्टाको चोटका कारण उनले फाइनल खेल गुमाउने रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले पुष्टि गरेका हुन्। कीर्तिमानी १४ पटक उपाधि जितेको रियलले १ जुनमा लन्डनमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध खेल्ने छ।
२४ वर्षीय फ्रान्सेली खेलाडीले ‘रिकभरि’ तर्फ आफ्नो ध्यान केन्द्रित गरेको उनले बताए। ‘उनी फाइनलका लागि तयार हुने छैनन्। तर, युरोपियन च्याम्पियनसिपका लागि समयमै रिकभर हुनमा उनी केन्द्रित हुनेछन्,’ एन्सेलोट्टीले भने।
जर्मन क्लब बायर्न म्युनिखविरुद्धको सेमिफाइनलको दोस्रो लेगमा चुवामेनीको बायाँ खुट्टामा ‘स्ट्रेस फ्रेक्चर’ भएको थियो।