काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य स्ट्राइकर अञ्जन विष्टले चोटको कारण विश्वकप २०२६ छनोटका बाँकी दुई खेल गुमाउने भएका छन्।
बायाँ खुट्टामा लागेको चोट बल्झिएपछि उनलेयुनाइटेड अरब इमिरेट्स (यूएई) र यमनविरुद्ध हुने खेल गुमाउने निश्चित भएको हो।
नेपाली पुरुष टोलीका लागि हरि खड्का र नीराजन रायमाझी समान उनले कीर्तिमानी १३ गोल गरेका छन्। अञ्जनलाई विश्वकप छनोट खेल्नेक्रममै २२ मार्च, २०२४ मा रिफास्थित बहराइन राष्ट्रिय रंगशालामा ५–० गोल अन्तरले हारेको खेलमा चोट लागेको थियो।
उनले पहिलो हाफमै मैदान छाडेका थिए। उनी बहराइनविरुद्ध ३–० गोल अन्तरले हारेको दोस्रो खेलमा मैदानबाहिरै रहेका थिए। त्यसपछि मैदानमा फर्किँदै उनी तीन साताअघि बेलायतमा भएको ब्रिटिस आर्मी र इङ्ल्यान्ड ‘सी’विरुद्ध खेलेका थिए।
उनलाई ती दुई खेलमा पनि बहराइनमा लागेको चोटले सताएको थियो। तैपनि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २६ वर्षीय अञ्जनलाई विश्वकप छनोटअन्तर्गत यूएई र यमनविरुद्ध हुने खेलका लागि २८ सदस्यीय प्रारम्भिक टिममा समावेश गरेका थिए।
तर, चोटले पुनः दुःख दिन थालेपछि अञ्जनले राष्ट्रिय टोलीसँगको प्रशिक्षण त्यागिसकेका छन्। उनले ६ जुन र ११ जुनमा हुने ती दुई खेल खेल्न नसक्ने जानकारी मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिएर आराम गरिरहेको बताइएको छ।
उनले विश्वकपका दुई छनोट प्रतियोगितामा ४ गोल गरेका छन्। दशरथ रंगशालामा १२ अक्टोबर, २०२३ मा लाओसविरुद्ध १–१ भएको खेलमा गोल गर्दै हरि र नीराजनको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए। त्यसयता उनी कीर्तिमानी गोलका लागि संघर्षरत छन्।
एशियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोटका लागि तोकेको मापदण्डअनुसार दशरथ रंगशालामा खेलाउन नपाइएपछि नेपालले यूएईविरुद्ध घरेलु खेल साउदी अरबमा खेल्ने प्रस्ताव एन्फाले गरेको छ।
यमनविरुद्धको ‘अवे म्याच’ को आयोजना स्थल पनि टुंगो लागेको छैन। विश्वकप २०२६ छनोट एशियन कप २०२७ छनोटको पनि आधार हो।
त्यसैले विश्वकप छनोटको दोस्रो चरणबाटै बाहिरिइसकेको नेपाल एशियन कप छनोटको तेस्रो चरणमा सीधै स्थान बनाउन सक्ने अवसरको लागि संघर्षरत छ। यसमा अञ्जनको अनुपस्थितिले अर्को झट्का दिएको छ।