फिदिम । घरेलु समर्थकको साथ पाएको झापा-११ पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा सरस्वती युथ क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।
झापाको जितमा कर्ण लिम्बु नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कर्ण चम्कदा झापाले फाइनल यात्रा तय गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ५३ औं मिनेटमा देवेन्द्र तामाङको लामो फ्रिकिकमा कर्णले हेड गोल गर्दै झापालाई जित दिलाए । खेलको अन्त्यतिर सरस्वतीले केही गोलको अवसरहरु सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
खेलमा झापाका दिलेन लाेक्ताम ‘म्यान अफ दि म्याच’ घोषित हुदै १० हजार नगद प्राप्त गरे ।
अब झापाले उपाधिका लागि रोयल एफसी दार्जीलिङ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्नेछ । दार्जीलिङ र आर्मीबीचको दोस्रो सेमिफाइनल खेल शनिबार हुनेछ ।